Wel Come to my Personal blog, visit: www.journalistpramod.com

नेटो– रुस विवाद परिणाम

प्रमोदराज सेढाई
pramodsedhain@gmai.com
उत्तर एटलाण्टीक सन्धि संगठन(नेटो) र रुसबीच शितयुद्ध समाप्तीपछिकै सबैभन्दा जटिल र चूनौतिपूर्ण बिबाद सृजना भएको छ । नेटोले रुसी सीमावर्ती पूर्बी र मध्य यूरोपेली देशहरुमा युद्धबिमानको उडान बढाउने, युद्धपोतहरु पूर्वीय भूमध्यसागर र बाल्टिक सागरमा तैनाथी गर्ने र स्थल फौजको गस्ती बढाइने घोषणा गरेको छ । यी सबै टकराबको अबस्था पश्चिमा देश र रुस दुबैका लागि भू–सामरिक रणनीतिक अबस्थितीमा रहेको युक्रेनको उपथलपुथलले सृजना गरेको हो । रुस समर्थक राष्ट्रपतिको युक्रेनी सत्ताबाट बर्हिगमन, युक्रेनको स्वसातीत क्षेत्र क्रिमीयाको रुसमा आगमन र युक्रेनको पूर्बी औद्योगीक नगर डोनेट्स्क क्षेत्रमा रुस समर्थक समुहले सशस्त्र तबरबाट नियन्त्रण हासील गरेपछि रुसी स्वार्थलाई धक्का दिन नेटोले आक्रामक सैन्य रणनीति सार्वजनिक गरेको छ ।
यतिबेला रुस र नेटो दुबै आफ्नो रणनीतिक आकाङक्षा पुरा गर्ने र अर्को पक्षलाई धक्का दिन तल्लीन छन् । शितयुद्धकालीन ध्रुबीकरणमा संयुक्त प्रतिरक्षाको अबधारणाअनुरुप १२ वटा देशहरुले सन् १९४९ मा एक अन्तर सैन्य गठबन्धनको रुपमा स्थापीत गरेको नेटो यतिबेला संसारको सबैभन्दा ठूलो सैन्य र कुटनीतिक संगठनको रुपमा क्रियाशील छ । नेटोमा सोभियत संघ पतनअघि १६ सदस्य रहेका थिएभने हाल बिस्तारित हुँदै २८ सदस्य पुगेको छन् । सन् १९९० मै जर्मन एकिकरणका समयमा नेटोले आफ्नो संगठन पूर्बी यूरोपतर्फ बिस्तार नगर्ने प्रतिबद्धता रुस समक्ष गरेको थियो । त्यो प्रतिज्ञा र प्रतिबद्धता टुटेको बुझाइमा रहेको रुसले सीमावर्ती क्षेत्रमा अत्याधुनीक हवाई प्रतिरक्षा प्रणालीको जडानसंगै सैन्य पुनरुत्थानको संकेत देखाएको छ ।

सहकार्य छाडेर शत्रुतातर्फ
युक्रेनमा बढ्दो रणनीतिक बिबादपछि रुस आफुसंग नेटोले गरेको प्रतिज्ञा भाँचिएको जनाएको छ भने संगठनले रुससंगको सबै खालको साझेदारीतालाई स्थगीत गरिदिएको छ । नेटोले अप्रिल ४ मा आफ्नो ६५ औं वार्षिकोत्सब मनाउँने तयारी गर्दै गर्दा क्रिमीया कब्जाको बिषयलाई लिएर अप्रिल १ देखी रुस संगको सम्पूर्ण सम्बन्धलाई स्थगित गरिदिएको छ । रुसले युक्रेनमा आफु समर्थक राष्ट्रपतिको बलजफ्ती बर्खास्तीलाई आफ्नो अपमान ठानीरहेको छ भने पश्चिमा देशहरु रुसी महत्वकांक्षामाथी अंकुश लगाउने तयारी गरिरहेका छन् । बढ्दो बिबादका माझ दुबै पक्षले आफ्नो स्थिीति सुदृढ गर्न सैनिककरणमा प्रोत्साहीत भइरहेका छन् ।
सन् १९९१ बाट शुरु भएको रुस– नेटो सहकार्य र साझेदारीतासंगै चरम विबादहरु रहँदै आएका थिए । तरपनि १९९४ सम्म आइपुग्दा रुस नेटोको शान्तिका लागि साझेदारीतामा प्रबेश गर्‍यो । सन् १९९७ मा रुस र नेटोबीच महत्वपूर्ण द्धिपक्षीय सहयोगको आदान प्रदान तथा खतराको संयुक्त मुकाबिला गर्ने सम्बन्धी सहकार्य भएको थियो । रुसको कडा आपत्तिको बेवास्ता गर्दै सम्झौताको दुई बर्ष नबित्दै नेटोले युगोस्लाभियामाथी बमबारी गर्‍यो । दोस्रो विश्वयुद्धपछि शितयुद्धमा समेत नभएको यूरोपेली राजधानीमा ७८ दिन (सन् १९९९ मार्च २४ देखी जुन १०) सम्म क्षेप्यास्त्र हमला र बमबारी चल्यो । आफ्नो आपत्ति अस्विकार्य भएपछि झस्कीएको रुसमा त्यही बर्षदेखी सत्तामा भ्लादीमिर पुटीनको आगमन भयो ।
नेटोले आफ्नो सीमावर्ती देशहरुम्मै सैन्य बिस्तार गरेपछि वास्तबिक खतरा देखेका पुटीनले रुसको कम्जोर आर्थिक र नैतिक धरातल हेरेर ब्यबहारिकताको भावनाबाट नेटोसंगको सम्बन्ध पुर्ननिमार्ण गर्ने जनाउँदै कोसोभोमा नेटो संगै संयुक्त रुपमा रुसी शान्ति सैनिक पठाउने निर्णय गरे । शितयुद्धका बेला संभाब्य सोभियत आक्रमणबिरुद्ध संयुक्त सैन्य प्रतिरोधको अवधारणाबाट गठीत नेटोसंग रुस नजिकियो ।
सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकबादी हमलापछि पहिलो विदेशी राष्ट्राध्यक्षका रुपमा रुसी राष्ट्रपति पुटीनले अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुशलाई टेलिफोन गरेर सहानुभुती प्रकट गर्दै आतंकवाद बिरुद्धको लडाईमा सहयोग गर्ने बचन दिए । सन् २००२ बाट औपचारीक रुपमै नेटो र रुसबीच समान साझेदारीको आधारमा साझा चासोका बिषयमा व्यबहारीक साझेदारीताको शुरुवात भयो । सम्बन्ध बिस्तार हुँदै जाँदा आणबीक देखी रणनीतिक र सैनिक तहसम्मको सम्बन्ध बिस्तार भयो । रुस र नेटो दुबैले प्रतिआतंकबाद देखी लागू औषध तस्करी नियन्त्रण सम्म, आकस्मीक देखी वैज्ञानीक सम्म सहकार्य गरे ।

शुरुवातीदेखीनै अविश्वसनीय रुपमा अघि बढीरहेको रुस–नेटो सम्बन्धमा इराक युद्धले दख्खल पुर्‍यायो । सन् २००२ सम्म इराकसम्बन्धी १६ वटा प्रस्तावहरु रुसी समर्थनमा पारित भए भने त्यसैबर्ष अर्को प्रस्तावपनि सघन छलफलपछि सर्बसम्मतिले पारित भयो । जब सन् २००३ मा इराकीमा सद्दाम हुसेनलाई पदच्यूत गर्नेगरी सैन्य हमलाको प्रस्ताव आयो, सुरक्षा परिषद्मा रुसी असहयोग देखीयो र मार्चमा कुटनीतिक प्रयास असफल भएको घोषणा गर्दै नेटो आवद्ध सैनिकले इराकमाथी हमला गरे ।
सन् २००८ मा रुसले नेटोको चेतावनीको बेवास्ता गर्दै जर्जियामाथी हमला गर्‍यो । रुसी भाषी क्षेत्र दक्षिण ओसेशिया र अबकाजियालाई टुक्राइ छुट्टै देशको मान्यता दिँदै आफ्नो प्रभावक्षेत्रका स्थापना गर्‍यो । रुसी अनुपस्थितीमा राष्ट्रसंघीय सुरक्षा परिषद्बाट पारित प्रस्तावको आधारमा सन् २०११ मार्च १७ मा नेटो आवद्ध देशले लिबियामाथी संयुक्त सैन्य हवाई हमला शुरु गरे । तात्कालीन रुसी प्रधानमन्त्री पुटीनले हवाई हमलालाई मध्ययुगीन धर्मयुद्धसंग दाँजीदिए । अरब आन्दोलनको हुरी सिरिया भित्रीएपछि नेटो र रुस तिब्र बिबादमा फस्न पुगे । राजनीतिक स्थिरता र सैन्य सुदृढीकरणसंगै अन्तर्राष्ट्रिय भूमीका बढाइरहेको रुसले आफुनिकट सिरियाली सत्तामाथी दबाब सृजना गर्ने र वाह्य हमला गर्न अनुमति दिर्ने प्रस्तावहरुमाथी राष्ट्रसंघीय सुरक्षा परिषद्मा लगातार रोकीदियो ।

सिरियाली संकटले नेटोसंगको सम्बन्धमा धक्का लागेपनि पुटीनले आफ्नो साझेदार देशसंग अविभावकत्व लिँदै बसर अल असदको सत्तालाई जोगाइदिए । मध्यपूर्बको नयाँ भू राजनीतिक बिभाजन र धु्रबीकरणकै बीच सन् २०१३ सेप्टेम्बरमा सिरियामा रासायनीक हमला भयो । सरकारमाथी दोष थोपर्दै नेटो आवद्ध देश हवाई हमलाको सम्मुख पुगेका बेला रुसी राष्ट्रपति पुटीनको व्यक्तिगत प्रयासले कुटनीतिक बाटो निस्कीयो । अन्य रणनीतिक बिबाद चूलिएकै बेला २०१३ डिसेम्बरमा युक्रेनमा गहिरिएको राजनीतिक बिभाजन र आफु समर्थक राष्ट्रपतिको बर्हिगमनसंगै आक्रोशीत रुसले सैन्य क्षमता प्रदर्शन गर्दै क्रिमीयालाई जनमत संग्रह गरि गाभिदियो ।
प्रतिफल अनिश्चित
युक्रेनी संकटले नेटो र रुसबीचको बिबाद छद्य युद्धको श्रृङखला हुँदै थप सैनिकीकरणको होडतर्फ मोडीएको छ । सैनिकीकरणको प्रयासले एकले अर्कोलाई हैरानी पार्ने र दबाब सृजना गर्न सके पनि कसैले पनि बाञ्छीत उपलब्धी हाँसील गर्न सक्ने देखीदैन । अब परम्परागत युद्ध नरहेको यर्थाथ दुबैले बुझेकाले जतिसुकै सैनिकीकरण भएपनि एकले अर्कोलाई युद्धमा हराउन सक्ने धरातलीय यर्थाथ छैन । युक्रेनमा भएको रणनीतिक बिभाजनकै कारण दुई वटा महायुद्ध भागेका विश्वमहाशक्तिहरु अर्को रक्तपातपूर्ण भिषण युद्ध चाहने देखीदैन । तरपनि आणबीक शक्तिसम्पन्न देशहरु एकअर्कालाई रक्षात्मक अबस्थामा पुर्‍याउन र आफ्नो रणनीतिक स्वार्थ हाँसील गर्ने होडबाजीमा छन् । शितयुद्धकालीन प्रतिद्धन्द्धीहरु त्यसबेला समेत आणबीक युद्धको सम्मुख उभिएर कुटनीतिक बाटो निकालेका धेरै उदाहरण छन् । अहिलेको रुस सोभियत शाख, शक्ति र सैन्य प्रबिधिमा नरहेपनि आफ्नो सीमावर्ती क्षेत्रमा यूरोपेली– नेटोको प्रभुत्वको अन्त्य गर्न तल्लीन छ । प्रभावकारी आर्थिक क्षमता र विश्वको सैन्य खर्चको ७० प्रतिशत भन्दा बढी नेटो आवद्ध देशहरुले गर्छन, नेटोको लगानीको ७५ प्रतिशत अमेरिकाले बेहोर्दै आएको छ अमेरिकी गैरनाफामुलक अनुसन्धान संस्था ब्रुकिंग्सका अनुसार रुसले पछिल्लो दशक आफ्नो सैन्य खर्चमा ७९ प्रतिशतले वृद्धि गरेको छ । विश्वको सबैभन्दा ठूलो आणबीक शक्ति रुसलाई युद्ध जित्न सैन्य शक्ति, प्रबिधि र खर्च मात्र पर्याप्त छैन । अर्कोतर्फ सन् १९९० को दशकमा डामाडोल भएको रुसी सैन्य शक्ति हाल पूर्ण सैन्य बदलाको सामना गर्न सक्षम भइसकेको छ । नेटो आवद्ध युक्रेनी सीमावर्ती देशहरुले अतिरिक्त सुरक्षा सुनिश्चितता खोज्दै गर्दा रक्षा ग्यारेन्टीको मागको उपायस्वरुप नेटोले सैन्य बिस्तारको उपाय लिएपनि रुससंग युद्ध भने चाहेको देखीदैन । ( This article published in Nayapatrika daily, 28 April 2014)

You can view Khabarhub for trusted news and analyses -
linked W3C Khabarhub website
https://www.khabarhub.com/